Monday, August 17, 2009

टोक्योमा १५ औं आदिबासी दिबस भब्यताका साथ सम्पन्न

सरद डायरि । आईतबार, साउन ३२, २०६६
निकै लामो समय अघी देखी १५औं बिश्व आदिबासी दिबस मनाउन मेरो नेतृत्वमा मुल समिति तयारि गरि आज यो कार्यक्रम सम्पन्न गर्न पाउदा अत्यन्तै खुशी लागेको छ । केहि कमोकमिजोरि नभएका त होईनन् तर सबै साथिहरुको पुर्ण सहयोगले समस्तिगत रुपमा भन्नुपर्दा कार्यक्रम निकै उत्साहपुर्ण रुपले सम्पन्न भएको कुरामा दुईमत नहोला । पुन एक पटक मेरो टिमका सबै साथीहरुलाई धन्यबाद दिदै उत्त कार्यक्रमको बिषयमा प्रकाशन भएको समाचार जस्ताको तस्तै .....
आज टोकियोमा एक समारोहको आयोजना गरी वरिष्ठ जनाजाती नेताहरुको उपस्थितिमा विविध कार्यक्रहरुकासाथ १५ औं आदिबासी दिवस मनाईयो ।
नेपाली आदिबासी जनजाती महासँघ जापानको आयोजनामा भएको उक्त आदिबासी दिवस समारोह जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहका अन्य बिशेष अतिथिहरुमा सभासदसमेत रहनुभएका नेपाली आदिबासी जनजाती महासँघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पा, राष्ट्रिय जनमुक्ति मोर्चाका अध्यक्ष एवं सभासद एमएस थापा मगर, पूर्व मन्त्री तथा जनजाती आन्दोलनका अगुवा गोरेबहादुर खपाङी र एनआरएन आईसीसीका उपाध्यक्ष देवमान हिराचन रहनुभएको थियो भने अन्य अतिथिहरुमा जापानका बिभिन्न सँघसँस्थाका प्रतिनिधिहरु रहनुभएको थियो ।
आयोजक सँस्थाका अध्यक्ष ओम गुरुङको सभापतित्वमा भएको सो आदिबासी दिवस समारोहमा प्रवत्ता सुकमानथिङ तामाङको स्वागत मन्तब्य रहेको थियो ।
आदिबासी दिवस समारोहमा बिभिन्न अतिथि महानुभावहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । शुभकामना मन्तब्य दिनुहुनेहरुमा तमू धीं जापानका अध्यक्ष दिनेश गुरुङ, थसेस जापानका अध्यक्ष ध्रुब भट्टचन, नेपाल तामाङ मैत्री समाजका अध्यक्ष रेखब्लोन तामाङ, नेपाल मगर सेवा समितिका अध्यक्ष गमप्रसाद जुग्जाली मगर, नेपाली जनप्रगतिशील मोर्चा जापानका उपाध्यक्ष बेलु थापा, नेकपा एमाले जापान प्रवास कमिटीका सचिव सूर्य पाठक, नेवा जागरण मंचक अध्यक्ष सुनिल शाक्य, आयोजक संस्थाका सल्लाहकार सुवन बज्राचार्य, एनआरएन जापानका अध्यक्ष भवन भट्ट, पूर्व मन्त्री तथा जनजाती आन्दोलनका अगुवा गोरेबहादुर खपाङी, एनआरएन केन्द्रका उपाध्यक्ष देवमान हिराचन, सभासद समेत रहनुभएका जनजाती आन्दोलनका अग्रज एवं इतिहासबिद तथा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापा मगर लगायतका हुनुहुन्थ्यो ।
शुभकामना मन्तब्यकाक्रममा जनजाती नेताहरुले संबिधान कस्तो बन्नुपर्छ भन्ने भन्दा पनि सरकार कसको बन्नुपर्छ भन्ने मुद्दाले प्राथमिकता पाएकोमा चिन्ता ब्यक्त गर्दै ठूला राजनैतिक दलहरुका कारण संबिधान लेख्ने काम ओझेलमा परेको औल्याएका थिए ।
बिशेष अतिथिको आसनबाट बोल्दै नेपाली आदिबासी जनजाती महासँघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले १९९५ देखि अगष्ट ९ का दिनलाई आदिबासी दिवसकोरुपमा मनाईदै आएको कुरा उल्लेख गर्दै यसलाई आन्दोलनकै रुपमा मनाईनुपर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्दा सिमानाको मात्र एकीकरण गरेको तर भावनाको एकीकरण पनि हुनुपर्नेमा त्यो हुन नसकेकोले आदिबासी जनजातीहरु पछाडि पर्दै आएको बिचार ब्यक्त गर्नुभयो । उहाँले गैरआवासिय नेपालीहरुको प्रसंग कोट्याउदैं समावेशी र समानुपाति भनेको फरक फरक कुराहरु हुन, एनआरएनमा समावेशी छ, समानुपातिक छैन, त्यो आवश्यक छ । अन्यथा मुलुकमा लगानी भित्र्याउने सवालमा समस्या उत्पन्न हुनसक्छ ।
यसैगरी प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. गणेश योञ्जन तामाङले राज्यको पुनसँरचनाको चर्चा सबैतिरबाट उठ्दै आएको भएपनि यसको मोडल कस्तो हुने भन्ने कतैबाट प्रष्ट पारिएको छैन । यो समस्याको बिषय हो । यसैगरी एक अर्को प्रसंगमा राजदूत डा. तामाङले जापानमा नेताहरु धेरै आउनुभयो यहाँका नेपालीहरुले भोग्दै आएका समस्याहरुका सम्बन्धमा जानकारी गराउदा आश्वाशन दिएर मख्ख पारेर फर्किनुहुन्छ तर नेपाल पुगेपछि सबै चटक्कै बिर्सनुहुन्छ । यो बिडम्बनाको कुरा हो । यसैगरी एक अर्को प्रसंगमा राजदूत डा. तामाङले आमा नेपाली भई भारतिय बाबूबाट जन्मेका सन्तानका नागरिकताको समस्याका बारेमा चर्चा गर्दै यो समस्या समाधानमा सहयोग गर्न माननीय सभासदहरुको ध्यानाकर्षण गराउनुभयो । यसैगरी उहाँले मातृभूमिमाथि आईलागेका चुनौतीप्रति हामी सबै नेपाली एक भएर सामना गदैं जानुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्तमा, आयोजक सँस्थाका महासचिव डा. दिनेश मानन्धरले कार्यक्रम सफल पार्न बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको थियो भने समारोहका सभापतित्व गरिरहेका महासँघका अध्यक्ष ओम गुरुङले आदिबासी जनाजातीहरुका हक, हित र अधिकारका लागि अझ संगठित हुँदै जानुपर्नेमा जोड दिदैं आदिबासी दिवस समारोहको समापन गर्नुभएको थियो ।
तत्पश्चात नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु राजु परियार, मञ्जु महत, रञ्जना शर्मा र सामसुङ तामाङको साँगीतिक प्रस्तुति रहेको रमाईलो साँस्कृतिक कार्यक्रम रहेको थियो ।
औपचारिक र साँगीतिक गरी दुइ चरणमा बिभक्त कार्यक्रमको क्रमशः आयोजक संस्थाका उपाध्यक्ष शरदकुमार गौचन र सदस्य जोन छन्त्यालले सञ्चालन गरेका थिए ।

No comments: