Saturday, August 1, 2015

महामहिम राजदुत डा.मदन कुमार भट्टराईद्धारा जापानीलाई धन्यबाद

सरद डायरि । शुक्रवार, श्रावण १५, २०७२
आज बेलुका सम्पन्न डिनर रिसेप्सन तथा भेटघाट कार्यक्रममा जापान लागि नेपाली राजदूत डा मदनकुमार भट्टराईले जापानी नागरिकले नेपालीहरुलाई परेको विपक्तीमा गरेको सहयोगको सराहना गर्नुभएको छ ।
शुक्रवार टोकियो स्थित दूतावासको आयोजनामा भएको कार्यक्रममा राजदूत डा भट्टराईले जापानीहरुले नेपाललाई धेरै माया र सदभाव प्रकट गरेको उल्लेख गर्दै महाभूकम्प पछिको अवस्थामा निरन्तर आर्थिक, भौतिक तथा प्राविधिक रुपमा उल्लेखनीय सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत भट्टराईले भूकम्प लगत्तै जापान सरकारबाट प्राविधिक तथा मेडिकल टोली पठाएर उद्धारमा सहयोग प्राररम्भ भएसंगै हालसम्म आर्थिक रुपमा पनि सहयोग निरन्तर पाईरहेको बताउनुभयो । नेपाल सरकार, जापानवासी नेपाली र दूतावास मार्फत हालसम्म पनि आर्थिक तथा अन्य सहयोग जारी राखेको भन्दै जापान सरकारलाई धन्यवाद दिनुभयो । यस्तै जापानका राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, नागरिक तथा व्यवसायीक कम्पनीहरुबाट हालसम्म दूतावास मार्फत करिव ५५ करोड ६० लाख जापानी येन रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । पाँच वर्षिया वालिका देखि १०३ वर्षिया वृद्धा समेतले सहयोग हस्तान्तरण गर्दा उत्साहीत भएको चर्चा गर्दै राजदूत भट्टराईले जापानमा मिलेर वसेका नेपाली समुदायको योगदानको समेत प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित भएका समकक्षी नेपालका लागि जापानी राजदूत मासासी ओगावाको योगदानको प्रशंसा गर्दै राजदूत भट्टाराईले आफनो तीन वर्ष आठ महिनाको कार्यकाल सफल भएकोमा धन्यवाद दिनुभयो। वीपी राजमार्ग निमार्ण पछि नेपाल सरकारलाई हस्तान्तरण भएको, तनहुँ जलविद्युत आयोजना लगायतका विकास निमार्णका काममा सफलता मिलेको भन्दै उहाँले महाभूकम्पको समयमा राजदूत ओगावाले नेपाल सरकारलाई मित्रवत व्यवहारसंगै ठूलो सहयोग गरेकोमा कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा पूर्व मन्त्री तथा नेकपा एमालेका नेता वाचस्पचि देवकोटाले जापानीहरुले नेपालको विकासमा उल्लेखनिय सहयोग दिदै आएको बताउदै महाभूकम्प पछिको नेपाललाई प्राविधिक विषयमा सहयोगको आग्रह गर्नुभयो । जापानी नागरिकमा नेपाली अनुहार हासी रहेको देखेको भन्दै उहाँले जापानी नागरिकको सहयोगको चर्चा गर्नुभयो । आफु लामो समयदेखि जापानी प्रगतिलाई नियाली रहेको सन्र्दभ उल्लेख गर्दै उहाँले जत्रै भूकम्प जादाँ पनि नभत्कने घर कसरी निमार्ण गर्ने अव हामीलाई यसवारे प्राविधिक सहयोग र शिक्षा आवश्यक भएको बताउनुभयो । विश्वमा भएका ठूला विनासका घटनामा परेर विपतको सामना गरेको जापान सरकार र जापानी नागरिकले हाम्रो विपत्तीमा गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । नेपालमा महाभूकम्पका कारण अघिंकास घरहरु ध्वस्त भएको प्रसंग निकाल्दै नेता देवकोटाले धेरै भूकम्प गईरहने जापानका विशाल गगनचुम्वी भवन निमार्ण भएको देखेर आशा पलाएको दावी गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत ओगावाले नेपालीहरुले जापानी नागरिकहरु विपत्तमा पर्दा सहयोग गरेको गुण तिरेको बताउनुभयो । नेपालमा महाभूकम्प गए लगत्तै टयाक्सी चढेर बाहिर निस्किएको घटना सुनाउर्दै राजदूत ओगावाले नेपालको विपत्तमा सहयोग गर्न सधै तत्पर रहेको जानकारी दिनुभयो । विश्वभरि फैलिएको नेपाली दूतावास मध्ये जापानबाट सवैभन्दा धेरै सहयोग भएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तत्पर रहेको जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संगठन एनआरएनए उपाध्यक्ष भवन भट्टले जापान सरकार र जापानी नागरिकहरुले नेपालीहरुलाई सदैव सकारात्मक सहयोग गरेको बताउनुभयो । नेपालको विकास निमार्ण र विपत अवस्थामा जापान सरकारको सहयोग अतुलनिय भएको बताउनुभयो । जापानमा वस्दै आएका नेपालीहरुले पनि जापानमा हुने विपतको अवस्थामा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । सन २०११मा भूकम्प पछिको सुनामीबाट पीडामा परेका जापानीहरुलाई नेपालीहरुले तरकारी र भात खुवाएर सहयोग गरेको सो अवसरमा जानकारी दिनुभयो । मनसुन पछि लगत्तै नेपालमा पुननिमार्णको काम सुरु हुने काममा पनि निरन्तर सहयोगको अपेक्षा गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल जापान अध्ययन केन्द्रका अध्यक्ष बिष्णु भण्डारीले भाषा अनुवाद गर्नु भएको थियो । यस्तैदृष्टिविहिन गायक प्रकास तिमिल्सीनाले अतिथिहरुको स्वागतका लागि नेपाली तथा जापानी गीतहरु पस्केका थिए ।







No comments: