Monday, October 8, 2012

एनआरएन जापान द्वारा आयोजित “बाल चित्रकला प्रतियोगिता”एतिहासिक रुपमै भब्य सम्पन्न

सरद डायरि । सोमबार, आश्विन २२, २०६९
प्रकाशीत समाचार तपसिल अनलाईन मेडियाहरुमा...
 
 
 










एनआरएन जापान द्वारा आयोजित बाल चित्रकला प्रतियोगिताएतिहासिक रुपमै भब्य रुपमा सम्पन्न
 जापानको नेपाली समुदायको ईतिहासमै पहिलो पटक एनआरएन जापानद्धारा आयोजित बाल चित्रकला प्रतियोगिता कार्यक्रम भब्य रुपमा सफल भएको छ । हाम्रा बालबालीकाहरु पराई भुमिमा बिदेशकै रहनसहन, भाषा, कला, संस्कृतिमा भिज्नु पर्ने बाध्यता र राष्ट्रका गतिबिधि प्रति अनभिज्ञ रहेको वर्तमान परिस्थितिमा मेरो आँखामा मेरो नेपाल शिर्षकमा गराइएको यस चित्रकला प्रतियोगिता, जापानमा बिल्कुलै नौलो, समय सान्दर्भिक र पहिलो पटक यस किसिमको रचनात्मक कार्य हाम्रा भविष्यका कर्णधार बालबालिकाहरुको सहभागितामा सफलता पूर्वक सम्पन्न भएको छ । अक्टुबर ८ तारिख सोमबार, सार्वजनिक बिदाको दिन पारी ५ वर्ष देखि १३ वर्ष सम्मका २६ जना बाल बालिकाको बिच प्रतिस्प्रधा रहेको उक्त चित्रकला प्रतियोगितामा जापानका लागि महामहिम राजदुत डा.मदन कुमार भट्टराई ज्यूको प्रमुख आतिथ्यमा ,  अन्य अतिथिहरुमा उपनियोग प्रमुख तापस अधिकारी ज्यू  ,राजदुतावासका कर्मचारी अनिल लम्साल ज्यू लगायत जापानका क्रियाशील संघसंस्थाका प्रतिनिधिहरु तथा उल्लेख्य रुपमा अभिभाबकज्युहरुको पनि उपस्थिति रहेको थियो |


२६ जना बाल बालिकाले चित्रण गरेको चित्रकला मध्येमा सुमिका तुलाचनको चित्रकलाले सर्वोकृष्ठ प्रथम बिजयीको रुपमा जित हासिल गरेकि थिईन भने, कलश श्रेष्ठको चित्रकला दृतीय ,प्रसंग जि.सीको चित्रकलाले तृतीय र अनुभव लम्सालको चित्रकलाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । बिजयी बालबालिकाहरुलाई महामिम राजदुत डा.मदन कुमार भट्टराई ज्यूले खादा र नगद पुरस्कार वितरण गर्नु भएको थियो ।  बिजयी बालबालिकाहरुलाई पुरस्कार वितरण पछि महामिम राजदुत डा.मदन कुमार भट्टराई ज्यूले जापानको नेपाली समुदायको इतिहासमै पहिलो पटक र आफ्नो जापान आगमन पछिको जापानमा रहेका विभिन्न संघ संस्थाहरु द्धारा आयोजित कार्यक्रममा सभागीताको अनुभवमा यो कार्यक्रम बिल्कुलै रचनात्मक, बालबालिकाहरुको सहभागितामा गरिएको, अभिभाबक ज्यूहरु, महिला वर्गको उल्लेख्य उपस्थिति देख्दा आफूलाई ज्यादै नै हर्ष लागेको बताउदै आयोजकलाई धन्यवाद ज्ञापन गर्नु हुदै बिजयी बालबालीकालाई हार्दिक बढाई तथा शुभकामना दिनु भएको थियो ।
त्यसै गरी अर्का अतिथी उपनियोग प्रमुख तापस अधिकारी ज्यूले हाम्रा भविष्यका कर्णधार बालबालिकाहरुको आफ्नो मातृभूमि नेपाल प्रतिको भावनालाई चित्रकलाको माध्यमबाट सुन्दर ढंगले प्रस्तुत गरेको र बालबालिका स्वयम अनि अभिभावक ज्यूहरु पनि उत्साही र खुसी देखेकोले यस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम गरी एनआरएनले नया कामको सुरुवात गरेको भन्दै आयोजक एवं सहभागी र बिजयी बालबालिकाहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा एनआरएन आइसीसी सदस्य रोशन के .सीज्यू, अर्का एनआरएन आइसीसी सदस्य अरुण कुमार श्रेष्ठज्यू , एनआरएन जापानका सल्लाहाकार डा.राम गिरिज्यू, गुल्मेली समाज जापानका अध्यक्ष सालिकराम भण्डारिज्यू, नेपाल जनसम्पर्क समिती जापानका अध्यक्ष बलराम श्रेष्ठज्यू, सल्लाहाकार भुपि गोविन्द श्रेष्ठज्यू, एनडिएफ जापानका अध्यक्ष सिर्जना काफ्लेज्यू र नेपालजापान डटकमका संपादक नारायणी आचार्यले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो |
मन्तव्यकै क्रममा प्रतियोगीका अभिभावकको तर्फबाट महिलाहरुको नेतृत्व गर्दै सुफल घिमिरेले भन्नु भयो -एनआरएन भनेको ठूला व्यक्तिहरु जम्मा हुने, ठूला कुरा गर्ने ठाउं हो भन्ने हामीलाई लागेको थियो र हामी बच्चाबच्ची भएका महिलाहरु खासै एनआरएनका कार्यक्रममा सहभागी हुने अवसर मिल्दैनथ्यो तर आज यो बालबालिकाहरुकै निम्ति भनेर राखिएको कार्यक्रमले गर्दा ५ वर्षको छोरा लिएर म पनि सहभागी हुने अवसर पाएँ । यस्ता कार्यक्रम अरु पनि हुदै जाउन  भन्दै अनुरोध गर्नु भएको थियो, त्यसैगरि पुरूष अभिभाबकको रुपमा मन्तव्य दिने क्रममा -हामी जापानमा रहेर पनि कसैका बच्चा अंग्रेजी स्कुलमा पढ्ने र कसैका बच्चा जापानिज स्कुलमा पढ्ने हुनाले भेटघाटको अवसर मिल्दैनथ्यो । आज यसरी सबै अभिभावक र बालबालिकाहरु एकै थलोमा भेला गराएर एनआरएन जापानले नया उदाहरण दिएको छ । आज नेपालमै बालबालिकाहरुको स्कुलमा जम्मा भएको अनुभूति भयो । के एनआरएनले पहल गर्यो भने जापानमा नेपाली भाषा सहित पढाईने स्कुल नेपाली मिलेर खोल्न सकिदैन ? भन्दै निराजन सुबेदी ज्यूले तर्क राख्नु भएको थियो ।
 बिजयी बालबालिकाको अभिभावकहरुको बिचार बुझ्न खोज्ने क्रममा..आफ्नी छोरीको चित्रकला पहिलो बिजयीको रुपमा घोषित भएकोमा खुसी व्यक गर्दै सुमिका तुलाचनकी आमा पदमा तुलाचनले आफ्नी छोरीमा यति राम्रो सिर्जना भएको आफैमा अनभिज्ञता देखाउंदै आयोजक एवं संयोजक ज्यूलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि हाम्रा बालबालिकाहरुलाई आफ्ना सिर्जना, रचना प्रस्तुत गर्ने अवसर जुटाईदिन अनुरोध गर्नु भएको थियो । त्यसैगरि आफ्नी छोरी कलश श्रेष्ठ दृतिय भएकीमा हर्ष ब्यक्त गर्दै अभिभावक भूपी गोविन्द श्रेष्ठ ज्यूले एनआरएन जापान एवं कार्यक्रम संयोजकलाई धन्यवाद ब्यक्त गर्दै यस्तै सृजनात्मक कामहरुले निरन्तरता पाउन् भनी शुभकामना व्यक्त गर्नु भयो । त्यसै गरी आफ्ना छोरा प्रसंग जि .सी .तृतीय भएकोमा खुसी ब्यक्त गर्दै अभिभावक तुलसी राम जि .सी .ज्यूले बच्चाको कार्यक्रम भनेर सहभागी गराउन ल्याएको तर आफ्नो छोराले आफूमा भएको सिर्जना सबै सामु प्रस्तुत गरी पुरस्कार पनि पाएकोमा आयोजकलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो । सान्तना पुरस्कार पाउन सफल भएका ७ बर्षका आफ्ना छोरा अनुभव लम्सालको भावना उनको रचना मार्फत प्रस्फुटन भएको देख्दा खुशी लागेको बताउदै अभिभावक कामना लम्सालले त्यो श्रेय आयोजकलाई जाने बताउनु भयो ।
कार्यक्रममा ३ सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो जसमा राजदुतावासको प्रतिनिधित्व गर्दै अनिल लम्साल ज्यू ,चित्रकलामा पोख्त अभिभाबक दिव्या गिरी ज्यू र आयोजकको तर्फबाट डा.नम्रता पाण्डे ज्यूले निर्णायक मण्डलको भूमिका निभाउनु भएको थियो ।
कार्यक्रमकी संयोजक डा .नम्रता पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई एनसीसी कोषाध्यक्ष नर बहादुर थापा, सदस्य डिपि कडेल एवं सचिवालय सदस्य राजु ढकालले ब्यबस्थापनको भूमिका निभाउनु भएको थियो भने महासचिव डा. राजेन्द्र पराजुलीको संचालन एवं प्रवक्ता शरद कुमार गौचन ज्यूले स्वागत मन्तब्य व्यक्त गर्दै उपस्थित महानुभावमा हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको थियो |
अन्त्यमा ,कार्यक्रमकी सभापति एवं निर्णायक मण्डलको भूमिका समेत निभाउनु भएकी आईसीसी महिला प्रतिनिधि एवं नेपालको पर्यटन र प्रवर्धन आइसीसी टास्क फोर्स सदस्य समेत रहेकी डा. नम्रता पाण्डेले चित्रकला प्रतियोगितामा लगभग सबै बालबालिकाले आफ्ना चित्रमा नेपाल, आफ्नो मातृभूमिलाई सगरमाथाको देश, बुद्ध जन्माएको देश, भौगोलिक बिबिधताले भरिएको खोलानाला, पहाडको देश, लालीगुराँस र डाँफे अनि संसारमै अलौकिक राष्ट्रिय झन्डा भएको देश भन्ने भावनालाई जस्ताको तस्तै चित्रकला मार्फत प्रस्तुत गरेकाले सबै कला नै उत्कृस्ट थिए र पनि कलाको प्रस्तुति, विषय वस्तु, कलाले नेपालको बारेमा दिन खोजेको संदेश, रंग भराई, सफाइ अनि बालबालिकाको उमेर अनुसार उनीहरुको रचनाको आधारमा उत्कृस्ठ ठहराइएको कुरा ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको माहोल, बालबालिका र अभिभावक ज्यूहरुको उत्साह, प्रेरणा देख्दा यस्ता कार्यक्रम गर्दै जाने उत्साह जागेको र कार्यक्रमको शोभा बढाईदिने महामिम राजदुत ज्यू, उपनियोग प्रमुख ज्यू, निर्णायक मण्डलका सदस्य ज्यूहरु, कार्यक्रमलाई सफल पार्न सघाउने उपस्थित बालबालिका, अभिभावक एवं कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ब्यक्त गर्दै डा. पाण्डेले सभा बिसर्जन गर्नु भएको थियो |
स्मरण रहोस, कार्यक्रमलाई प्रायोजन गरि सहयोग गर्नुहुने आईसीसी सदस्य गोविन्द श्रेष्ठ, अर्का आईसीसी सदस्य अरुण कुमार श्रेष्ठ, एनसीसी उपाध्यक्ष बिष्णु रेग्मी, कोषाध्यक्ष नरबहादुर थापा, राज कंम्पनी लिमिटेडलाई आयोजकले हार्दिक आभार ब्यक्त गरेको छ ।

No comments: