Tuesday, April 2, 2013

जापानमा "तोरन्ल्ह" पर्वको उपलक्ष्यमा देवताको पुजाआजा र धनुषखेल प्रतियोगिता भब्य रुपमा सम्पन्न

सरद डायरि । सोमबार, चैत्र १९, २०६९
 
हिजो सम्पन्न थसेस जापानद्धारा आयोजित तपसिल  समाचार र केहि झलकहरु तलतिर जस्ताको तस्तै... 
 थकाली सेवा समिति जापानले अस्ति मार्च ३१ तारिख आईतबारका दिन थकाली जातिको महान चाड "तोरन्ल्ह" को उपलक्ष्यमा बिधि पुर्वक थकाली देवताको पुजाआजा कार्य तथा परम्परागत धनुष खेल प्रतियोगिता वृहत रुपमा सम्पन्न गरेको छ ।
कानागावा प्रिफेक्चरस्थित तोचुका नामक आर्चरि खेल मैदानमा बिहानको १० बजे देखी बेलुका ४ बजे सम्म जापानमा पहिलो पटक आयोजित उत्त कार्यक्रममा गौचन, शेरचन, तुलाचन र भट्टचन बिचको अन्तरचन धनुषखेल प्रतियोगिता अति नै सौहार्दपुर्ण बातावरणमा भब्यताका साथ आयोजना भएको हो ।
कार्यक्रमको शुरुआतमा थकालीको भेषभुषा नोकोनचोलोले सजिएकि दिदिवहिनीहरुद्धारा थकालीको चार देवता र ईष्ट देवी नरिझ्यवको धुब प्रजल तथा विधिपुर्वक पुजाआजा गरिएको थियो । त्यस पश्चात कन्या बालक समिप गौचनले बाण हान्ने खोलमा पुजा पाठको सुरु गर्दै समितिका अध्यक्ष शरद कुमार गौचनले उदघाटन गर्नु भएको थियो साथै थकाली पोशाक दौरा,सुरुवाल र टोपिमा सजिएका थकाली भाषा बिज्ञ अनिल भट्टचन, राजकुमार शेरचन र बिनोद भट्टचनले तोरन्ल्हको थकाली गित गाउदै समउदघाटन कार्यमा सहभागि जनाउनु भएको थियो ।
उदघाटन पश्चात अध्यक्ष गौचनले मन्तब्यको क्रममा धनुषबाण हानेर सिकार गर्ने पुख्यौली संस्कार हामि थकालीको चिनारि हो भन्दै सात समुद्र पारि जापानमा आफ्नो संस्कृति र संस्कारलाई निरन्तरता दिन पाउदा ज्यादै हर्षित भएको बिचार प्रकट गर्नु भएको थियो ।
त्यसैगरि कार्यक्रमका संयोजक तथा सचिब हेमन्त कुमार शेरचनले हाम्रो आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने मुल लक्ष्य रहेको यस धनुषखेल प्रतियोगितामा सहभागि सबैलाई भरिपुर मनोरञ्जन लिन अनुरोध गर्दे आयोजित कार्यक्रमको बारेमा छोटो मन्तब्य दिनु भएको थियो ।
त्यस पश्चात समितिका अध्यक्ष र चारचनका टिम क्याप्टेन (ढाँपन) क्रमश: शरद कुमार गौचन, हेमन्त कुमार शेरचन, अनिल भट्टचन, किशन तुलाचन र बुद्धि गौचनलाई कन्या महिलाले शुभ बढाई पुजा (केल्च्याङ) गरि धणुषखेल प्रतियोगिताको शुरुआत गर्न लगाईएको थियो ।
धनुषखेल प्रतियोगितामा प्रत्येक चनको टिमबाट ५,५ जना खेलाडि दर्ता सहित २० जना खेलाडि सहभागि बिच पहिलो चरणको प्रतिस्प्रधामा गौचन टिमले १५० पोईन्ट, तुलाचन टिमले १३० पोईन्ट, भट्टचन टिमले ८० पोईन्ट र शेरचन टिमले ७० पोइन्ट हासिल गर्दै क्रमश: प्रथम, दोस्रो, तेस्रो र चौठो हुनु भएको थियो भने शेरचन टिमका टिम क्याप्टेन (ढाँपन) हेमन्त कुमार शेरचन, तुलाचन टिमका टिम क्याप्टेन (ढाँपन) किशन तुलाचन र शेरचन टिमकै अर्का खेलाडि राजकुमार शेरचनले सर्वोकृष्ट (खोल) स्कोएर प्राप्त गर्नु भएको थियो ।
थकालीहरुको तोरन्ल्ह पर्वमा गरिने चलन बमोजिम बिजयी तथा उत्कृष्ठ खेलाडिहरुलाई कन्या महिला चेलिहरुद्धारा शुभ-बढाई (केल्च्याङ) अविरयात्रा गर्दै बढाई ज्ञापन गरिएको थियो भने खेलाडिहरुले त्यसको बदलामा महिला चेलीहरुलाई भेटि स्वरुप दानदक्षिणा प्रदान गर्ने कार्य समेत सम्पन्न गर्दा यदाकदा नेपालमै भएको झझल्को दर्साएको थियो ।
दोस्रो चरण, तेस्रो चरण वा चौठो चरण गर्दै ५ दर्जन बढि खेलाडिहरुले पालैपालो धणुषखेल प्रतियोगितामा स्वच्छ प्रतिस्प्रधाका साथ सौहार्दपुर्ण बातावरण भरिपुर मनोरञ्जन सहित सहभागि जनाएको दृष्य अति नै रोचक र लोभ लाग्दो थियो ।
शुरुआत देखी नै सम्पुर्ण कार्यक्रमलाई अति नै ब्यबस्थितका साथ संचालन गर्दै उपाध्यक्ष अनिल भट्टचनले थकालीहरुको एकमात्र महान चाड तोरन्ल्हको बारेमा ज्यादै सरल भाषामा तोरन्ल्ह पर्वको महत्वको बारेमा समेत स्पष्ट पार्नु भएको थियो भने कार्यक्रमको अन्तमा समितिका अध्यक्षले सम्पुर्ण उपस्थिति तथा सहयोगी बन्धुहरुलाई हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
स्मरण रहोस, यस कार्यक्रममा थसेस जापानले बिशेष थकालीहरुको उत्कृष्ठ परिकारहरु सहित सिङ्गो खशिको ताजा मासु र भरिपुर खानपिनको समेत ब्यबस्थापन गरेको थियो ।



 









 































 


























 
 
 

 

No comments: