Tuesday, July 17, 2012

थसेस जापानद्धारा नर्साङ गुम्वा संरक्षण तथा जिर्णोद्धारको लागि आर्थिक सहयोग

सरद डायरि । सोमबार, साउन २, २०६९












अस्ति जुलाई १४ शनिबार का दिन थाक खन्ती, कोवाङ गाविस वडा नं. ६, मुस्ताङ जिल्लामा अवस्थित ल्ह् महागुरू(नरिच्हयोव) नर्साङ गुम्बाको संरक्षण एवं जीर्णोद्वारका लागि थसेस जापानले सातलाख सैतीस हजार आठसय नौ रूपैयाँ सहयोग स्वरूप “नर्साङ गुम्बा संरक्षण समिति-२०६१”लाई हस्तान्तरण गरेको छ । उक्त रकम थसेस जापानको तर्फवाट थसेस जापानका विशेष सल्लाहाकार द्धय शरद शेरचन र धुर्ब भट्टचनका साथै थसेस जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचनले संरक्षण समितिका अध्यक्ष सोमत भट्टचनलाई हस्तान्तरण गरेका थिए ।

थसेस काठमाण्डौ क्षेत्रको प्रांगणमा भएको हस्तान्तरण समारोहमा विशेष सल्लाहाकार शरद शेरचनले थसेस जापानले प्रदान गरेको सहयोगका साथै थसेस जापानका कोषाध्यक्ष बुद्धि गौचनको संयोजकत्वमा गठित चन्दा संकलन समिति द्वारा संकलित सहयोग रकम र चन्दादाताको नामावलीका साथमा थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले पठाउनु भएको शुभकामना शन्देश वाचन गर्नु भएको थियो । अर्का विशेष सल्लाहाकार धुर्ब भट्टचनले सकरात्मक कामहरूमा थसेस जापानले सधै सहयोग गर्ने गरेको बताउनु भएको थियो । सोही कार्यक्रममा बसन्त भट्टचनले नर्साङ गुम्वाको महत्व र निर्माणाधिन नर्साङ गुम्बाको वर्तमान अवस्थावारे प्रकाश पार्नु भएको थियो । धर्मगुरू लामा पंकज शेरचनले गुम्बाको एैतिहासिक पृष्ठभूमीको वारेमा प्रकाश पार्नु भएको थियो ।
सोही समारोहमा “नर्साङ गुम्बा संरक्षण समिति-२०६१” का अध्यक्ष सोमत भट्टचनले सहयोग स्वरूप प्राप्त रकमको भर्पाई थसेस जापानका विशेष सल्लाहाकार द्धय शरद शेरचन र धुर्ब भट्टचनलाई प्रदान गर्नु भएको थियो ।
थसेस जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा थसेस केन्द्रका अध्यक्ष खगेन्द्र भट्टचन, थसेस काठमाण्डौका अध्यक्ष रमेश गौचन, थसेस अनुसन्धान केन्द्रका अध्यक्ष ओमकारप्रसाद गौचन, थसेस महिला परिवारका अध्यक्ष श्रीमती प्रेमकुमारी गौचन, थासाङ स्पोर्टसका अध्यक्ष गुप्त शेरचन, थकाली युवाका अध्यक्ष अमृत गौचन तथा अन्य धेरै थकाली बन्धुहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सम्पर्क समितिका कोषाध्यक्ष नविन शेरचनले गर्नुभएको थियो । कार्यक्रमको अन्तमा सभापति तथा जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचनले सबैलाई धन्यवाद दिदै जापान सम्पर्क समितिको तर्फवाट नव निर्वाचित थसेस केन्द्रका पदाधिकारीहरूलाई खादा लगाई बधाई तथा शुधकामना दिनु भएको थियो ।

No comments: