Thursday, April 3, 2014

थकाली सेवा समिति जापानले आफ्नो संरक्षकको स्मृतिमा वृहत नि:शुल्क स्वास्थ सिविर सम्पन्न गर्यो ।

सरद डायरि । बुधबार, चैत्र १९, २०७०
धेरै पहिला देखी योजना गरिएको यस प्रोजेक्ट आज सम्पन्न भएको खवर प्राप्त गर्न पाउदा र म स्वयम आयोजक संस्थाको नेतृत्वको नाताले ज्यादै हर्षित छु । हाम्रा आदरणीय संरक्षक स्वर्गिय डा.योगेन तुलाचनको गृह गाउँ टुक्चेमा चैत्र १९ तारीक बुधबार र मेरो आफ्नो गाउ कुञ्जो गाविस, ताग्लुङमा त्यसको २ दिन पछि २१ गते शुक्रवार भब्यताका साथ सम्पन्न भयो । तपसिल स्वास्थ खवर पत्रिकाले प्रकाशन गरेको समाचार र फोटो फिचर तलतिर जस्ताको तस्तै.....  
हिमालपारी वृहत स्वास्थ्य शिविर (फोटो फिचरसहित)
मुस्ताङ- पर्यटकीय र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि स्वास्थ्य सुविधाबाट वञ्चित मुस्ताङी जनताले घरआँगनमै स्वास्थ्य सुविधा पाएका छन् । यसको चाँजो मिलाएको थियो– थकाली सेवा समिति जापानले ।
जापानमा पहिलो नेपाली चिकित्सकका रुपमा सेवा गरेका स्व. डा. योगेन तुलाचनको स्मृतिमा समितिले यही चैत १९ गते टुकुचे र २१ गते कुञ्जो गाविसमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा थकाली स्वास्थ्यकर्मी परिवारकोे प्राविधिक सहयोग र निप्पोन पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर र नेपाल–जापान सम्पर्क समिति परिवार नेपालको विशेष सहयोग रहेको थियो । कार्यक्रमका लागि डा. दीपेश शाक्यको नेतृत्वमा ५  चिकित्सकसहित १५ जनाको टोली काठमाडौंबाट मुस्ताङ पुगेको थियो ।
टुकुचेमा आयोजित शिविरमा आसपासका गाविसबाट आएका समेत गरी २ सय ५० जनाले सेवा लिएका थिए । सेवा लिनेमा आधाभन्दा बढी महिला रहेका थिए । शिविरमा आएका बिरामीमध्ये धेरैलाई हड्डी खिएर हुने ओस्टियोआर्थराइटिस र यूरिक एसिड भएको पाइएको थियो । केही बिरामीलाई भने रेफर गरिएको थियो ।
शिविरमा स्त्री रोग, प्रसूति, हाडजोर्नी, बालरोग, सुगर, उच्च रक्तचापलगायतको उपचार गरिएको थियो । शिविरमा सुगर, युरिक एसिड, हेमोग्लोविन परीक्षण तथा इसिजीलगायतका सेवा पनि दिइएको थियो । शिविरमा डा. दीपेश शाक्य, डा. सुष्मा भट्टचन, डा. कुमार श्रेष्ठ, डा. कृपा शेरचन र डा. जया तुलाचनले सेवा दिएका थिए ।
त्यसैगरी, चैत २१ गते कुञ्जो गाविसको ताक्लुङ निम्न माध्यमिक विद्यालयमा आयोजित शिविरमा करिब ३ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये अधिकांशलाई उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । चिसो मौसमका कारण अत्याधिक मदिरासेवनका कारण यस्तो समस्या रहेको डा. दीपेश शाक्यले जानकारी दिए । उनीहरुमा उपचारका साथै जनचेतनाको पनि आवस्यकता रहेको डा. शाक्यले बताए । महिलामा पेट दुख्ने, पाठेघर खस्ने र सेतो पानी बग्ने समस्या रहेको डा. जया तुलाचनले जानकारी दिएकी छन् ।
यसैगरी बालबालिका अधिकांशमा खोकी लाग्ने र सरसफाइको कमीका कारण छालाजन्य रोग देखिएको डा. सुष्मा भट्टचनले बताइन् । शिविरमा सेवा लिएका बिरामीमा हाडजोर्नी, यूरिक एसिड र मदिराजन्य रोग धेरै देखिएको डा. कृपा शेरचनले जानकारी दिएकी छन् । शिविरमा करिब ५० जना बिरामीको इसिजीसमेत गरिएको थियो । ‘यहाँका जनताले इसिजी र औषधिसहित यति धेरै स्वास्थ्य सुविधा पाउनु भनेको भाग्यको कुरा हो ।’  कुञ्जो उपस्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष प्रविन तुलाचनले बताए ।
स्वास्थ्य सुविधाबाट वञ्चित मुस्ताङका जनताले स्वास्थ्य शिविरबाट लाभ लिएको र आगामी दिनमा पनि वृहत स्वास्थ्य शिविर गर्ने थकाली स्वास्थ्यकर्मी परिवारका अध्यक्ष तथा शिविर संयोजक  विश्व शेरचनले बताएका छन् ।
DSC04979DSC04965DSC04780DSC04996DSC04958DSC04957DSC04951DSC05016DSC04976
 
 
साभार: स्वास्थ खवर पत्रिका-बासुदेव न्यौपाने
 

No comments: